Saturday, January 23, 2010

मायालु ... !

मेरो आँगनमा उसले
घाम पठायो
शीत पठायो
खामभित्र चराको सुसेलीसँगै
उसले गुनगुनाउने धुन पठायो ।

म मौन बसेपछि छोडेर गयो
मलाई उडाउन नसक्ने आँधी भनेर ।

ऊ फर्किएपछि
मैले उसलाई घाम पठाउन सकिनँ
शीत पठाउन सकिनँ
खामभित्र चराको गीत पठाउन सकिनँ ।

उसले साँचेको हुनसक्छ मेरो लागि-
मीठो-नमीठो सम्झना गहिराइ
बेनिन्द्रा मुस्काउने एकान्त
बग्दो हावामा अल्झिएको समर्पण
फूलको शीत
शीतको गहिराइमा डुबेको नदीफूल
हृदयमा लुकाएको तस्बिर
थोपाथोपा पीडा
छुट्नुअघिको सम्झनास्पर्श
सेताफूलमूनि ओझेल परेको छाया
मेरो लागि रोपेको हुँदो हो उसले
फूलमा ओर्लने बिहान
जलकुम्भीमुनि लुक्ने आँसुतलाउ
गहिरो आकाशमा उड्ने नीला याद
पलपल आगोमा डुब्दै गरेको आश
चुल्ठोभरि छरिएको सुदूर सम्झना

सपनामा बर्बराउँदै भन्दो हो
हावा लागेको रुखको पातमा
पछ्यौरी बनेर फरफराउने मायासलाम तिमीलाई…!

मायालु…!
आगोमा उभिएको आँधीसलाम तिमीलाई…!
हाँस्न नसकेको आँसुसलाम तिमीलाई…!
तिमीले नदिएको घामसलाम तिमीलाई…!

ऋतुकोगीत

घङ्गारूको लौरो टेकेर
कोशी किनारमा उभिएकी हजुरआमा
रित्ता गिजा मजेत्रोले छोप्दै
अञ्जुलीभरि पानी उघाएर भन्छिन्–
फेरिएनन् यी रूखका पातहरू
संग्लिएन सप्तकोशी
चरा ब्यूझनुअघि हराएकाहरू भेटिएनन्
ऋतुको पोल्टाबाटै हराए बसन्तबहार
बाबै आस्थाको तोरण चुडियो
बिश्वासको छानो भत्कियो
फूलको रङ हरायो
रगतले नुहाएर देउराली रोयो
साझको घामसग गएका नातिनातिना फर्किएनन्

लामो सास तान्दै भन्छिन्–
उफ ताराका लामसगै इतिहासका पाना फेरिए
लोककथा, दन्त्यकथा, गीतका धून, श्लोक फेरिए
अह फेरिएनन्
आगनमै घोप्टिएका चिसा, काला, अमिला... ऋतु गीतहरू

सन्तान हराएको दलानमा बसेर सुर्तीको लामो सर्को तान्दै भन्छिन्–
दैलाको सङ्घार लिप्ने रातोमाटोमा छोराको रङ छ
तुलसीमठमा चढाउने पानीमा छोरीको रङ छ
सम्झनाको नमिठो छाया लिपेर औलाले तस्विर कोर्छिन्–
आसुका गीतको
नफेरिएका ऋतुका गीतको

पूर्णचन्द्रमूनि उभिएर भन्छिन्–
बुझिराखेस् बाबै
फूलको रङमा मेरा नातिनातिना छन्
जो हराए आखाबाट
जो भेटिएनन् आजसम्म
यीनैलाई सम्झदै मेरो आसुमा–फूल, चरा, झण्डा, माटो... रोईरहे
यी नभेट्टिउञ्जेल आखामा सप्तकोशी छचल्किरहनेछ
सम्झिराखेस् बाबै
आखामा सप्तकोशी छचल्किरहनेछ ।

Tuesday, October 14, 2008

लडाँइमा

यो शान्ती भूमि हो नजाउ लडाँइमा ।
गोली र बारुद नखाउ लडाँइमा ।।

बिश्वास छ बुद्ध जन्मनेछन्
ओम माने पेमे हुँ नगाउ लडाँइमा ।।

ब्यूँझन्छन् अभावमा गाउँ बस्ती
भोक मेट्न मजदुर नजाउ लडाँइमा ।।

आफ्नै बान्धवको रगतै पोखिंदा
जीतको अबीर नलाउ लडाँइमा ।।

यी बाल बच्चा बृद्ध र अबला
छोडेर त्रासमा नधाउ लडाँइमा ।।

Monday, October 13, 2008

उ इश्वर फूटाइरहन्छे


पहिलो पटक
कुन कालिगढले उदास बनेर
भगवान कुँदयो होला ?
कुन भक्तले
कुन मितिमा
कुन फूल चढायो होला
र कस्ले राख्यो होला मन्दिरमा
चुपचाप बस्न सिकाएर,
यो निर्वासित भगवान
कहिलेसम्म
मान्छेको शरण परिरहन्छ हँ ?
रोशीको बगरमा गिट्टी कुट्ने
स्वास्नीमान्छे सोधिरहन्छे

क्षितिज नफाटुञ्जेल
सपनाभन्दा अग्लो गिट्टी थुपार्छे
थुप्रोको आडमा
अढाइ बर्षे नानी हुर्काइरहेकी छे,
बामे सर्दै रमाएर नानी पुतली पछ्याईरहेछ,
आमालाई छोडेर टाढा पुगेको छ
उस्ले गिट्टी कुट्दा बुन्ने सपना
रोशीको पानीमा झर्दै गरेको
चन्द्रमाभन्दा सुन्दर छ,
उस्को धरातल
मन्दिरको देउताभन्दा शालीन छ,
उस्को नानीले पछ्याउने बाटो
इन्द्रेणीभन्दा लामो छ ।
हत्केलाका ठेलाहरु हेरेर
फूल जस्तो कल्पनामा हराउँछे,
गिट्टी कुट्दाको टकटकसँगै
काब्य रच्छे र झयाउरेमा भन्छे
कायर बनेर ढुङ्गामा लुक्ने
यो भगवान गिट्टी बनेको छ ।
पिठ्युँमा नानी
काधमा घन लिएर
रोशीले बगाउन नसकेको
ढुङ्गा फूटाउने उ
दुनियाले पुज्ने भगवान फूटाउँछे,
दुनियाले तिरस्कार गरने
बाउ नभेटिएको नानी
भगवान मानेर हुर्काइरहेकी छे,
घरबाट निकालिएकी
गाउँबाट खेदिएकी
बिस्थापित उ
सिन्दुर इन्द्रेणीलाई बुझाएपछि
मन्दिर बनाइने ढुङ्गा गिट्टी बनाउँछे
भगवान पुजिने ढुङ्गा गिट्टी बनाउँछे
घर बनाउने ढुङ्गा गिट्टी बनाउँछे
गिट्टी बेचेर नानी पाल्ने उस्लाइ
भगवान पुजिने धेरै ढुङ्गा फूटाएपछि
यो निर्जन दुनियाँले भन्ने गरछ
उ इश्वर फूटाइरहन्छे ।